Wednesday, 21 October 2015

नेपालको जित कायम

काठमाडौं – आइसीसी अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा नेपालले अन्तिम लिग म्याचमा आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । क्वालालम्पुरको किनरारा मैदानमा भएको खेलमा नेपालले १ सय ८५ रनको लक्ष्य मात्र ४२.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।
पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । निकै धारिलो बलिङ गरेको नेपालले आयरल्याण्डका ब्याटसम्यानहरुलाई खुलेर खेल्न दिएनन् । नेपालका लागि प्रेम तामाङले चार विकेट लिए भने ललित राजबंशीले दुई विकेट लिए । यसअघि अमेरिकाको खेलमा पनि तामाङले ५ विकेट लिएका थिए ।
आयरल्याण्डको तर्फबाट एरन गिलेस्पीले सर्वाधिक ५८ रन बनाए भने ओपनर ज्याक टेक्टरले ४६ रनको योगदान दिए ।
जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि ओपनरद्वय सुनिल धमला र सन्दिप सुनारले क्रमशः ७५ र ८५ रन बनाएपछि सहज जीतको आधार तय गरे ।
प्रतियोगितामा नेपाल मात्र एक अपराजित टोली बनेको छ । जारी प्रतियोगितामा यसअघि खेलेको तीन खेलमा नेपालले तीन खेलमा जित हासिल गरेको छ । नेपाली युवा टोलीले पहिलो खेलमा पपुवान्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गरेको थियो भने दोस्रो खेलमा युगान्डालाई १७१ रनको भारी अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
विभिन्न पाँच टोलीले भाग लिएको उक्त प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा र पपुवान्युगिनी सहभागी छन् । उक्त छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने १९ वर्षमुनिको विश्वकप च्याम्पियनसीप खेल्न पाउनेछ । उन्नाइस वर्षमुनिको विश्वकपमा आइसिसीका १० पूर्ण सदस्य राष्ट्रहरू वेष्ट इन्डिज, अस्ट्रेलिया, जिम्बाब्वे, बङ्गलादेश, बेलायत, न्युजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र भारत सहभागी हुनेछन् ।
फाइनल भोली खेलाइनेछ ।

No comments:

Post a Comment